सिसेक्पा तङ्नाम: प्रवासी लिम्बूहरूको महान चाड

🔏*रुकमान केरुङ (पोर्तुगल)

लिम्बू, नेपालका पूर्वी क्षेत्रमा बसोबास गर्ने एक मूलवासी/आदिवासी जाति हो। लिम्बू जातिको आफ्नै मौलिक भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, परम्परा,रीति रिवाज, अस्तित्व र पहिचान पाइन्छ । लिम्बुवान (अरुण पूर्वका नौ जिल्ला समेटेको भूभाग) लाई मूल थातथलो मान्ने लिम्बू जातिको बसोबास नेपालको विभिन्न ठाउँहरू, भारतका सिक्कीम, दार्जिलिङ , खर्साङ, मिरिक, कालिङपोङ, आसाम, मणिपूर आदि भूभागहरूमा लिम्बूहरूको उल्लेख बसोबास पाइन्छ । त्यस्तै अन्य विभिन्न देशहरू भुटान, वर्मा (म्यानमार), सिंगापुर,मलेसिया, अमेरिका,अस्ट्रेलिया,साथै बेलायत लगायत युरोपका विभिन्न देशहरूमा पनि लिम्बूहरूको बसोबास पाइन्छ । लिम्बूहरू देश तथा विदेशका विभिन्न क्षेत्रहरूमा संगठित भएर आफ्नो पहिचान बचाउने तथा आपसी सरसहयोग र सद्भाव कायम गरिरहेका छन्। लिम्बू जातिको आफ्नो भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, अस्तित्व र पहिचानहरूको संरक्षण प्रवर्धन तथा पुस्तान्तरणको निम्ति आफ्नै मूल्य-मान्यताका विभिन्न चाडपर्वहरू समय अनुकूल मनाउदै आइरहेका छन्।


लिम्बूहरूले आफ्ना चाडपर्वहरूलाई लिम्बू भाषामा तङ्नाम भन्ने गर्दछन । लिम्बू समुदायमा विशेष महत्व भएका केही तङ्नामहरू : १, यक्वा तङ्नाम
K-lang 
२, सिसेक्पा तङ्नाम ३, चासोक तङ्नाम ४, कक्फेवा तङ्नाम ५, वलिहाङ तङ्नाम
माथि उल्लेखित तङ्नामहरू मध्ये यक्वा-सिसेक्पा- चासोक-कक्फेवा तङ्नामहरू कृषि अन्नबालीहरू लगाउने र बालीनाली उठाउने सम्बन्धी एक किसिमको वार्षिक चक्रका रुपमा मान्ने गरेको देखिन्छ । जस्तै, पहिलो चाडको रूपमा यक्वा तङ्नाम- चैत्र/वैशाख महिनामा पर्ने गर्दछ । यो समयमा नयाँ बाली लगाउने र बालीनाली सप्रीयोस भनी पूजाआजा गर्ने चलन रही आएको छ । त्यसैगरी सिसेक्पा- कुनै कुनै बालीहरू सिसेक्पा (साउने सङ्क्रान्ति)को समयमा पाक्ने हुनेले उक्त पाकेको अन्नपातलाई पहिले माङलाई पूजाआजा गरी चढाएर नयाँ अन्नहरू खाने चलन छ । त्यसैगरी चासोक तङ्नाम- यक्वा तङ्नाम (चैत्र/वैशाख) मा लगाइएको बालीनालीहरू असोज/कार्तिक महिनामा पाक्ने हुँदा पाकेका अन्नबालीहरू इष्ट देवता(युमा साम्माङ) लाई चढाएर खाने गरिन्छ । कक्फेवा तङ्नाम - माघे सङ्क्रान्तिसम्म आइपुग्दा अन्नपातहरू सकिदै जाँदा बाँकी समय जमिन मुनि फलेका कन्दमूलहरू (तरुल,वनतरुल) इत्यादि खाएर भए पनि जीवन यापन गर्न सकिन्छ भनि कक्फेक्वा तङ्नाम मनाउने गरिन्छ।

परापूर्वकालदेखि लिम्बू परम्परानुसार वलिहाङ तङ्नाम कार्तिकमा महिनामा मनाउने गर्दछन् । वलिहाङ तङ्नामको आफ्नै महत्व र मिथक छ।
यी प्रमुख चाडहरू मध्ये सिसेक्पा तङ्नाम सम्बन्धी केही चर्चा गर्ने जमर्को गरेको छु। भाषा शास्त्रीय हिसाबले सिसेक्पा भन्नाले (सि + साक + पा ) को अर्थ मरण छेक्ने वा मर्ने तवर वा तरहको अनिकाल छेक्ने चाड भन्ने बुझाउदछ। हाम्रा पुर्खाहरूले जीवन यापन गर्ने क्रममा अनिकाल, भोकतिर्खासँग धेरै संघर्ष गर्नुपर्यो। हाम्रा पुर्खाले जङ्गली युगदेखि कृषि युगसम्म आइपुग्दा भोगेका संघर्षहरूलाई पार लगाउने उपाय खोज्दै यो समयमा यो तङ्नाम मनाउन शुरु गरेको देखिन्छ। हाम्रा पुर्खाहरूले जीवन जिउने क्रममा विभिन्न किसिमको दुखकष्टहरू आउने गरेकोले हुनाले यसबाट मुक्ति पाउँने उपायहरू खोज्दै समुदायमा चाडपर्वहरूको रुपमा मनाउदै भावी सन्ततिहरूमा कहिले पनि यस्तो अनिकाल आइनपरोस,आइपरी हाले पनि त्यसको सामना गर्नको निम्ति सचेत गराउन पनि यो सिसेक्पा तङ्नाम मनाउने गरिन्छ।
सिसेक्पा तङ्नाम मुन्धुममा उल्लेख भए अनुसार राजा माङहाङको पालामा सावायेत्हाङका सन्तानहरुको बस्तीमा साक्चोङ नाम गरेको अनिकाल मानिसको घरमा प्रवेश गर्यो। ठुलो अनिकाल र भोकमरीका कारण सावायेत्हाङ गाउँमा हाहाकार मच्चियो। अनिकालको कारण मानिसहरू भोक भोकै मर्नु लागे। भोकमरी किन सिर्जना भयो भन्ने चिन्ताले राजा माङहाङ तड्पिए। राजाले तागेरा निङ्वाफुमाङसङ आराधना गर्न थाले। सपनामा तागेरा निङ्वाफुमाङले "बिहान उठेर तिम्रो बारीमा हेर्नु, अन्न फलेको देख्छौ" भन्नुभयो। बिहान बारी हेर्न जादा भटमास, बोडी आदि उम्री पाकिरहेको देखेर खुसी भइ राजा माङहाङले हाङचुम्लुङ बोलाएर सबैलाई पाकेको अन्न ल्याएर खाइ बाच्नु भनी निर्देशन दिए। सावायेत्हाङ गाउँका जनताहरूले भटमास बोडी पकाई खाएर अनिकालबाट बाचे। उनै तागेरा निङ्वाफुमाङ र राजा माङहाङको सम्झनामा सिसेक्पा तङ्नाम सावायेत्हाङ प्रत्येक वर्ष मनाउन थाले।


सिसेक्पा तङ्नामको दिन बिहानै नजिकैको जङ्गलमा गई आवश्यक सामग्रीहरू खोजेर तयार गर्ने गरिन्छ । सिदिङ्बा (अडेरी काँडा), युक्निवा (हर्कटो), कुरिल्लो , कुकुर डाइनीको पात, सिस्नु, बरपिपलको पात लगायत खेत बारिमा नयाँ पाकेको अन्न,फलफूलहरूलाई बाबियोको डोरी बनाई त्यसमा सिउरिएर घरको मूलढोका साथै घर वरिपरि टाङ्ने गरिन्छ। जसलाई साक्चोङ भन्ने गरिन्छ। साकनाम खेदाउनकोलागि साँझमा थाल बजाउदै, नाङ्लो ठटाउँदै,सानो डोको बोकेर, अगुल्टो सहित घरको कुनाकुनाबाट मूलखम्बा वरिपरिहुँदै मूलढोकाबाट पश्चिम दिशामा कुनै चौबाटोमा लगी बिर्सजन गर्ने चलन छ।हामी सानो हुँदा बोजू-आमाहरूले "साकनाम पेगे ओ, याक्नाम तेओ (अनिकाल जाउ सहकाल आउ), नाना पेगे ओ, यम्मो मेदेएनो (परपर जाउ फेरि नआउ)" भन्दै साकनामलाई खेदाउनु पर्छ भन्नू हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीहरू मिलेर खेदाउने गरिन्थ्यो। साथै बिसर्जन गर्ने क्रममा पनि विभिन्न मुन्धुमहरू फलाक्दै पश्चिम तिर फर्केर खुट्टाले कुल्चिएर घर फर्किने चलन छ। सपरिवार बसेर रमाइलोको साथ सिसेक्पा तङ्नाम मनाउने चलन रहिआएको छ ।

पोर्तुगलमा विगत केही दसकदेखी लिम्बूहरूको बसोबास उल्लेख वृद्दी भैरहेको देखिन्छ । सन् २०१४मा किरात याक्थुङ चुम्लुङ सामाजिक संस्था गठन गरी लिम्बूहरू विच पारस्परिक एकता, संस्कार, संस्कृतिको जगेर्ना, पौरवी तथा पुस्तान्तरण आदिमा पहलकदमी गर्दै आइरहेको छ। कियाचु पोर्तुगलले स्थापना कालदेखि नै प्रत्येक साल विभिन्न चाडपर्वहरूको अवसरमा कार्यक्रमहरू गर्दै आइरहेको छ।

कियाचु पोर्तुगलले विशेष गरी सिसेक्वा तङ्नामलाई ठूलो चाडका रुपमा मनाउने गरेको छ । पोर्तुगलमा बसोबास गरिरहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरू, आप्रवासी नेपाली विशिष्ट व्यक्तित्वहरू, विभिन्न संघसंस्थाहरूका अतिथिहरू, गैरलिम्बू दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आमन्त्रण गरी शुभकामना आदानप्रदान गर्ने गरिएको छ।

यो अवसरमा सिसेक्वा तङ्नामको मुन्धुम, महत्त्व र प्रचलन आदिका बारेमा जानकारहरूको बुझाइ तथा अनुभवहरू सुन्ने/सुनाउने गरिन्छ । वास्तवमा यो चाड प्रकृतिको पूजासँगै पुर्खालाई सम्झिने र कृषि प्रणालीसँग जोडिएको चाडको रुपमा मनाइन्छ। किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको अधिवेशन तथा साधारण सभा समेत यसै कार्यक्रममा सम्पन्न गर्ने गरिएको छ। यी चाडपर्वहरूमा केलाङ, यालाङ, हाक्पारे, ख्याली गाउदै नाच्दै विविध सांस्कृतिक कार्यक्रम गर्ने गरिएको छ । लिम्बू मौलिक भेषभूषा तथा खानेकुराहरूको पनि यथा सम्भव संयोजन गरी प्रवासमा लिम्बू मौलिकपनको प्रस्तुति गर्ने गरिएको छ।
***

Post a Comment

Previous Post Next Post